पाटन (ललितपुर), १४ पुस : वन तथा वातावरणमन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको ३०औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले मानव र प्राणीबीचको सम्बन्धलाई सुमधुर बनाउन चिडियाखानाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सदर चिडियाखाना व्यवस्थापन पक्षको प्रशंसा गर्नुभयो ।
“स्वार्थमा आधारित प्रवृत्तिको अन्त्य गर्दै इमानदारीपूर्वक काम गर्न, सेवा प्रवाह गर्न, निर्णय गर्न र प्रभावकारी कार्यन्वयन गर्न ध्यान दिनुपर्छ, सूर्यविनायकमा बन्न लागेको चिडियाखानाको काम केही हप्तामै प्रभावकारी रूपमा अगाडि बढ्छ, संरक्षणकर्मीहरू भ्रष्टाचार विरोधी हुन्छन्, अब संरक्षण अभियानमा राज्यतिर मात्रै औँला उठाउनेभन्दा पनि समुदायको साझेदारी र सहकार्यमा पनि जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।
मन्त्री चौलागाईंले चिडियाखाना व्यवस्थापनको प्रशंसा गर्दै सरसफाइलाई ध्यान दिएकामा खुसी व्यक्त गर्नुभयो । “बाघ संरक्षणमा मानवीय दायित्व बढी सृजना हुने अवस्थाको न्युनीकरण गर्नुपर्नेछ, प्रणालीमा सहज रूपमा नियमसङ्गत काम गर्ने वातावरण किन भएको छ भनेर खोज्नुपर्छ, ३० वर्षदेखि कर्णालीले केन्द्रीय सत्तामा पहुँच पाएको थिएन, म मन्त्री भएपछि यो अवस्थाको अन्त्य भयो, देशलाई निराशाको चङ्गुलमा राख्ने काम गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।
मन्त्री चौलागाईंले चिडियाखानाको विस्तारमा लागि प्राणी संरक्षण गर्ने र सरसफाइ कायम राख्ने उत्कृष्ट मापदण्ड तयार गर्न सदर चिडियाखानाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका राज्यको नेतृत्व गर्नेहरूबाट पर्याप्त काम हुन नसकेकाले जेनजी विद्रोह भएको भन्दै सुशासन कायम गर्ने हुटहुटी हरेक सरकारी कार्यालय र नेतृत्वकर्ताहरूमा हुनुपर्नेमा जोड दिनुभयो ।
“सुशासन र सेवा प्रवाहमा ध्यान दिएर नागरिकमैत्री कामलाई जोड दिएका छौँ, जति दिन मन्त्रालयमा रहन्छौँ, ध्यान दिएर काम गर्छौं,” मन्त्री चौलागाईंले भन्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सदर चिडियाखाना व्यवस्थापनका लागि गरेका सबै प्रतिबद्धता पूरा भएको जानकारी गराउँदै चिडियाखानामा संरक्षणमा रहेको पाटेबाघ संरक्षणका लागि १५ लाख रूपैयाँ उपलब्ध गराएको जानकारी गराउनुभयो ।
चिडियाखाना ललितपुर महानगरपालिकाको सान भएको भन्दै उहाँले यसको संरक्षणका लागि ध्यान दिने बताउनुभयो । चिडियाखानाको व्यवस्थापन र संरक्षणका लागि महानगरले कुनै पनि समस्या आउन नदिने बताउँदै उहाँले चिडियाखानाको विकास र विस्तारका लागि साझेदार भएर काम गर्न तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख महर्जनले रात्रिकालीन समयमा चिडियाखाना अवलोकन गर्न सक्ने व्यवस्था मिलाएकामा खुसी व्यक्त गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना व्यवस्थापन गर्ने जिम्मेवारी थप ३० वर्षका लागि दिएकामा खुसी व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले भक्तपुरको सूर्यविनायकको प्रस्तावित चिडियाखानालाई खुला चिडियाखानाका रूपमा विकास गर्नेगरी गरिएको तयारी र सोचअनुसार काम हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले वन्यजन्तु विभाग र संरक्षण क्षेत्रसँग समन्वय गरेर प्राणीहरूको उद्धारमा सदर चिडियाखानाले गर्दै आएको कामको प्रशंसा गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष एवम् चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले प्रकृति संरक्षण कोषलाई वैज्ञानिक र सुव्यवस्थित बनाउनका लागि विद्वत वर्गलाई समेट्दै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सूर्यविनायकमा केन्द्रीय चिडियाखाना बनाउन मन्त्रालयले प्रकृति संरक्षण कोषलाई पर्याप्त सहयोग नगरेको भन्दै मन्त्री चौलागाईंको ध्यानाकर्षण गराउनुभयो । चिडियाखाना व्यवस्थापनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समेत पर्याप्त समन्वय र सहयोग गर्न नसकेको भन्दै वन्यजन्तुको अध्ययन–अनुसन्धान र प्राणी संरक्षणका लागि सबै सरोकारवालालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वअध्यक्ष ओलीले प्राणी संरक्षण, चिडियाखाना व्यवस्थापन, अध्ययन अनुसन्धान एवम् अन्तरराष्ट्रिय साझेदारीमा विगतमा मन्त्री र राज्यले गरेको प्रतिबद्धता कार्यान्वयनमा समेत कर्मचारी तहबाट असहयोग भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले वन्यजन्तुको चापअनुसार सदर चिडियाखानाको क्षेत्रफल कम भएको भन्दै यसको क्षेत्रफल वृद्धिका लागि ध्यान दिँदै अन्य ठाउँमा समेत वन्यजन्तु संरक्षणका लागि व्यवस्थापन गर्दै विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सदर चिडियाखानाको समन्वयमा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेर वन्यजन्तु संरक्षणमा योगदान पुग्नेगरी देशभर चिडियाखानाहरू सञ्चालन गर्न ध्यान दिन आग्रह गर्नुभयो । सदर चिडियाखाना सबैले अपनत्व गर्ने संस्थाका रूपमा विकसित होस् भन्ने कामना गर्दै उहाँले दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डाक्टर नरेश सुवेदीले सदर चिडियाखाना व्यवस्थापनका लागि थप ३० वर्षे जिम्मेवारी प्रदान गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै ललितपुर महानगर र वडा नं ४ ले प्रभावकारी समन्वय र अभिभावकत्व ग्रहण गरेर सकारात्मक काम गरेको बताउनुभयो ।
‘फ्रेन्डस् अफ जू टिचर कमिटी’का अध्यक्ष खगेन्द्र नेपालले ३० वर्षको गौरवमय यात्रा पूरा गर्न सफल भएकामा शुभकामना व्यक्त गर्दै संरक्षण शिक्षाको पर्यायका रूपमा विद्यालयलाई समावेश गरेर लैजाँदा संरक्षण अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले ‘फ्रेन्डस् अफ जू’ अन्तर्गत संरक्षण अभियानमा एक लाख २७ हजार ४५० भन्दा बढी विद्यार्थीहरू समाहित भएको जानकारी गराउनुभयो ।
सदर चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण श्रेष्ठले अग्रजहरूको योगदानले चिडियाखानाको उत्कृष्ट व्यवस्थापन हुन सकेको बताउँदै यहाँको आम्दानीले नेपालका दुईवटा संरक्षण क्षेत्रका लागि खर्च व्यवस्थापन गर्न सफल भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरू राधाकृष्ण श्रेष्ठ, सरिता ज्ञवाली र इन्द्रराज भट्टराई, संरक्षणमा उत्कृष्ट काम गर्ने कर्मचारी, वन्यजन्तु संरक्षणका क्षेत्रमा उत्कृष्ट कथा, कविता, गीत रचना गर्ने विद्यार्थीहरूलगायतलाई सम्मान एवम् पुरस्कृत गरिएको थियोे ।