पुस १४, २०८२ सोमबार

पाम बीच (फ्लोरिडा), १४ पुस  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गर्नुभएको छ । यद्यपि उहाँले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गर्नुभयो ।

    राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाई घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिनुभयो । सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहनुहुन्छ भन्ने आफ्नो विश्वास दोहोर्‍याउनुभयो, यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् ।

    संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गर्नुभयो । विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गर्नुभयो ।

    वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गर्नुभयो । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाउनुभएको छ । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताउनुभयो ।

    जेलेन्स्कीले शान्तिका लागि अमेरिकाको प्रयासप्रति धन्यवाद दिँदै ‘युक्रेन शान्तिका लागि तयार छ’ भन्नुभयो ।

    भेटपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग पुनः फोन वार्ता गर्ने योजना रहेको जानकारी दिनुभयो । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार आइतबार भएको ट्रम्प–पुटिन वार्ता अमेरिकी पक्षको पहलमा भएको र ‘मैत्रीपूर्ण तथा व्यावहारिक’ रहेको थियो । जेलेन्स्कीसँगको भेटपछि ट्रम्प र पुटिन ‘तुरुन्तै’ फेरि कुरा गर्न सहमत भएको उशाकोभले बताउनुभयो ।

    तर उशाकोभले पूर्वी युक्रेनको डोनबास क्षेत्रलगायत विषयमा शत्रुताको पूर्ण अन्त्यका लागि किएभबाट ‘साहसी र जिम्मेवार राजनीतिक निर्णय’ आवश्यक पर्ने धारणा राख्नुभयो । दुवै पक्षका अनुसार डोनबास क्षेत्रको भविष्य नै अहिलेको सबैभन्दा ठूलो अड्चन हो ।

    राष्ट्रपति ट्रम्पले सम्झौता नजिकिएको दाबी गर्दै भन्नुभयो, “यो निकै कठिन मुद्दा हो तर समाधान सम्भव छ ।” जेलेन्स्कीले पनि यो विषयमा युक्रेन र रुसबीच गहिरो मतभेद रहेको स्पष्ट पार्नुभयो ।

    यसबीच, जेलेन्स्की अमेरिका भ्रमणमा रहँदा पनि युक्रेनमा आक्रमण जारी रहे तापनि राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्यप्रति ‘गम्भीर’ रहेको विश्वास आफूलाई अझै रहेको बताउनुभयो । उहाँले वार्ता असफल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभएन र ‘केही हप्ताभित्र स्थिति स्पष्ट हुनेछ’ भन्नुभयो ।

    हालैका हप्ताहरूमा अमेरिकी शीर्ष वार्ताकारहरूले शान्ति योजनाका मस्यौदामा उल्लेखनीय प्रगति गरेको ट्रम्प–जेलेन्स्की भेटले देखाएको छ । जेलेन्स्कीका अनुसार करिब २० बुँदे प्रस्ताव ‘करिब ९० प्रतिशत तयार’ भइसकेको छ । अमेरिकाले युक्रेनलाई केही नाटो–जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ, जसको साटो युक्रेनले नाटो सदस्यता प्रयास स्थगित गर्न तयार रहेको सङ्केत गरेको छ ।

    रुसतर्फबाट राष्ट्रपति पुटिनले कब्जा गरिएका चार क्षेत्र र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आउनुभएको छ । साथै, युक्रेनले नाटोमा सामेल हुने प्रयास त्याग्नुपर्ने, सेनाको आकार सीमित गर्नुपर्ने र रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्ने जस्ता शर्तहरू पनि राखिएका छन् । किएभले यी मागहरू सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ ।

    क्रेमलिनले शान्ति सम्झौता सजिलै नटुङ्गिने चेतावनी दिँदै वार्ता लामो समय लिन सक्ने सङ्केत गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्प भने युक्रेन र रुसबीच युद्ध अन्त्यको सम्भावना अझै जीवित रहेको र प्रयास जारी रहनेमा आशावादी देखिनुहुन्छ ।