पुस १४, २०८२ सोमबार

ताप्लेजुङ, १४ पुसः ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ । 

    पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको  जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिनुभयो । 

    यस्तै, सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय एक, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेका छन् । आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र एक सय २७ मतदान केन्द्र तय  गरिएका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो ।