महेन्द्रनगर (धनुषा), १४ पुसः मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ ।
जनकपुरधामस्थित मोनास्टिक विद्यालय÷कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको समेत उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रमा समयानुसार प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा लाग्न सभामुख यादवले आग्रह गर्नुभयो ।
त्यसैगरी विद्यालयका संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास, उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै मोनास्टिक विद्यालय स्थापना भएको उद्देश्य समाजलाई शिक्षित, सचेत र सक्षम नागरिक उत्पादन गर्नु रहेको बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अनुशासन, संस्कार र समावेशी शिक्षालाई प्राथमिकता दिँदै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा विद्यालय÷कलेजका संस्थापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा विविध कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय प्रशासनले ४०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन विभिन्न शैक्षिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिएको जनाएको छ ।
विद्यालयका संस्थापक डा सोनु साहले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई नैतिकता, संस्कार र व्यावहारिक सीपसँग जोडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका शिखा नायकले समेत आफ्नो धारणा राखनुभएको थियो ।