पुस १४, २०८२ सोमबार

काठमाडौँ, १४ पुस ः राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्य ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त हुनुभएको छ । वि.सं. २०४८ मङ्सिर ५ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदबाट सेवा प्रवेश गर्नुभएका नायव महाप्रबन्धक शाक्य यही पुस ९ गतेदेखि सेवा निवृत्त हुनुभएको हो ।  
 
    करिब ३४ वर्षको सेवाअवधिमा उहाँले राससको अन्तरराष्ट्रिय समाचार सम्पादन, समाचार सङ्कलन, नेपाली समाचार सम्पादन र सूचना प्रविधि शाखाको नेतृत्व सम्हाल्नुभएको थियो । लामो समय राससको सम्पादकीय नेतृत्व सम्हाल्नुभएका शाक्यले केही समय अङ्ग्रेजी समाचार सम्पादन शाखामा समेत काम गर्नुभएको थियो ।
 
     अवकाश प्राप्त नायब महाप्रबन्धक शाक्यको आज रासस केन्द्रीय कार्यालयमा औपचारिक रुपमा बिदाइ गरियो । त्यस अवसरमा नायव महाप्रबन्धक शाक्यलाई रासस व्यवस्थापन, रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियन तथा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठानका तर्फबाट प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
 
     बिदाइ कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससप्रति शाक्यको प्रतिबद्धता र समर्पण अनुकरणीय रहेको बताउनुभयो । “नायब महाप्रबन्धक शाक्यले राससको हितलाई सर्वोपरि राखेर काम गर्नुभयो, राष्ट्रिय सङ्कटको चुनौतीपूर्ण घडीमा कुशल सम्पादकीय नेतृत्व बहन गर्नुभयो,” उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास र रासस सङ्ग्रहालय स्थापनामा शाक्यको विशिष्ट योगदानलाई राससले सदैव सम्झने छ ।”
 
     राससका महाप्रबन्धक सन्दीप राईले संस्थाले सुम्पिएको जिम्मेवारी इमानदारिता र निष्ठापूर्वक सम्पादन गर्नुभएका नायब महाप्रबन्धक शाक्यसँग समाचार सेवामा परम्परागत, आधुनिक र नवीनतम् प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको भण्डार रहेको बताउनुभयो । शाक्यको पदचापलाई सम्पूर्ण राससकर्मीले अनुशरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
 
     नायब महाप्रबन्धक शाक्यले तीन दशक लामो आफ्नो सेवाकालमा भएका संस्थागत विकास, आइपरेका चुनौती, अनुभव र अनुभूति सुनाउनुभयो । नेपाली पत्रकारिताको इतिहासमा राससको बेग्लै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उहाँले आफ्नो ओझलाई कामय राख्न स्रोतसाधन र सूचना प्रविधिको विकासमा ध्यान दिन सुझाव दिनुभयो ।
 
     राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले संस्थाको श्रीवृद्धिमा शाक्यको विशिष्ट योगदान रहेको जनाउँदै संस्थागत हितका लागि उहाँको समर्पणलाई राससकर्मीले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।