पुस १४, २०८२ सोमबार

काठमाडौँ, १४ पुस : नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफ्नो संस्था सदैव सक्रिय भएर अगाडि बढेको बताउनुभएको छ । एनओसीको २१औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले खेलकुदको नीतिनियममा रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै खेलकुद क्षेत्रभित्र रहेका विकृतिलाई उखेलेर फाल्नुपर्ने बताउनुभयो । 


    खेलकुद क्षेत्रको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै अध्यक्ष श्रेष्ठले एनओसीको विवादलाई समाधान गर्न राज्यले विशेष चासो देखाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल सङ्घका तर्फबाट बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपाने शुभकामना व्यक्त गर्नुभयो । 

    एनओसीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको २१औँ साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तरराष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गर्नुभयो । एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराउनुभयो । त्यसअनुसार अबको वर्षमा चार ठूला अन्तरराष्ट्रिय प्रतियोगिता रहेका छन् । 

    ती प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुनेबीच गेम्स रहेको छ । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तरराष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।

    सोही अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकत्वमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पिएमसी) गठनका लागि प्रस्ताव गरिएको छ । साधारणसभाले जेनजी आन्दोलनमा सहिद हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ ।

    यस्तै साधारणसभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । साधारणसभामा कुल २३ सङ्घका प्रतिनिधिको उपस्थिति रहेको थियो ।