काठमाडौँ, १५ पुसः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभएको छ ।
तमु ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो ।
सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकताले समुन्नत, न्यायपूर्ण र समावेशी समाजको निर्माणमा जोड दिँदै उहाँले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुकमा धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकासमा योगदान गर्ने बताउनुभयो ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सांस्कृतिक अधिकार, स्वतन्त्रता र समानताको मर्मअनुसार सबै जाति समुदायबीच समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो ।