ढाका, १५ पुस : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।
खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।
बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उहाँको अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उहाँकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उहाँको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।
उहाँको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मङ्गलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए । बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो । पार्टीका युवा समर्थक गोलम किब्रियाले जियाले विलासिताको जीवनभन्दा जेल रोजेर वर्षौं कठिन अवस्था भोग्नुभएको उल्लेख गर्दै उहाँलाई ‘कहिल्यै प्रतिस्थापन गर्न नसकिने अतुलनीय नेता’ को संज्ञा दिनुभयो ।
जियाको अन्तिम दिनहरूमा देशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले पनि राष्ट्रलाई उहाँको स्वास्थ्यलाभ र पछि आत्मशान्तिका लागि प्रार्थना गर्न आह्वान गर्नुभएको थियो । उहाँले जियालाई ‘अत्यन्त प्रेरणादायी व्यक्तित्व’ भन्दै राष्ट्रले ‘एक महान अभिभावक गुमाएको’ टिप्पणी गर्नुभयो । युनुसका अनुसार उहाँको दृढ नेतृत्वले पटक–पटक देशलाई अलोकतान्त्रिक अवस्थाबाट बाहिर ल्याउन सहयोग गरेको थियो र जनतालाई स्वतन्त्रताको मूल्य बुझ्न प्रेरित गरेको थियो ।
तीन पटक प्रधानमन्त्री रहनुभएकी जियालाई सन् २०१८ मा तत्कालीन शेख हसिना सरकारका पालामा भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । सोही कारणले उपचारका लागि विदेश जानसमेत उहाँलाई रोक लगाइएको थियो । हसिना सत्ताच्युत भएपछि गत वर्ष उहाँ रिहा हुनुभयो । यस महिनाको सुरुतिर विशेष एयर एम्बुलेन्समार्फत लन्डन लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नहुँदा योजना कार्यान्वयन हुन सकेन ।
उहाँका जेठा छोरा तारिक रहमान अब फेब्रुअरी १२ मा हुने आम चुनावमा बिएनपीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । उहाँ १७ वर्षको निर्वासनपछि केही दिनअघि मात्र स्वदेश फर्किनुभएको थियो । पार्टीले बहुमत हासिल गरेमा उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिने व्यापक अनुमान गरिएको छ । बङ्गलादेशका प्रमुख सञ्चारमाध्यमहरूले जियाको निधनको समयमा उहाँका छोरा रहमान र परिवारका अन्य सदस्यहरू उहाँकै साथमा रहेको जनाएका छन् ।
एक अग्रणी राष्ट्रिय दैनिकले उहाँलाई ‘दृढ नेता’ का रूपमा स्मरण गर्दै लेखेको छ, “राजनीतिज्ञहरूको जीवन उत्थान र पतनले भरिएको हुन्छ, जहाँ कानूनी मुद्दा, गिरफ्तारी, कारावास, उत्पीडन र आक्रमण असामान्य हुँदैनन् । बेगम खालिदा जियाले यस्ता सबै कठोर परीक्षाहरू चरम सीमासम्म सहनुभयो । उहाँको जीवन सङ्घर्ष, अडान र राजनीतिक प्रतिबद्धताको प्रतीकका रूपमा बङ्गलादेशी इतिहासमा सधैँ स्मरणीय रहनेछ ।”