राजविराज (सप्तरी), १५ पुसः शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ ।
नगरका कार्यवाहक प्रमुख इसरत परविनका अनुसार ट्याक्टरमार्फत नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।
कार्यवाहक प्रमुख परविनले विगत एक हप्तादेखि बढेको जाडोबाट प्रभावित स्थानमा दाउरा अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले आफ्नो दैनिकी जीवन चलाउन कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने कर्मचारी तथा सर्वसाधारणलाई न्यानोका लागि यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।” नगरपालिकाका अनुसार मुख्य बजारसहित वडा नं. १, २, ३, ४, ५, ६ र ७ वडामा दाउरा वितरण गरिएको छ ।
राजविराज नगरपालिका–७ का स्थानीय राजेश चन्द्र यादवले दाउरा वितरण थालिएपछि सर्वसाधारणलाई चिसोबाट थोरै राहत महसुस भएको बताउनुभयो ।
शीतलहरका कारण जनजीवन प्रभावित भएपछि सप्तरीका राजविराजसहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोकै कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ ।
त्यसैगरी बरख गण राजविराजबाट सेनानी भरत गिरीको कमान्डमा १÷१६ नफ्री मा राजविराज नगरपालिका–२, ५, र ७ वडा र विभिन्न ११ स्थानमा करिब २०० जना स्थानीयलाई लाभान्वित हुने गरी जिल्ला वन डिभिजनको सहयोगमा दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ ।