पुस १५, २०८२ मंगलबार

काठमाडौँ, १५ पुसः ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ? सोध्नेहरुलाई उहाँ भन्नुहुन्थ्यो, “अनि यो ठेकी आजको हो त ? तीनपुस्ते पुरानो नि ।”
 
    उमेरले ६३ पुग्नुभएकी देवकुमारीले आज टुँडीखेलमा भएको तमु ल्होसार महोत्सवमा परम्परागत संस्कृति प्रदर्शन गर्न घरबाटै पुख्र्यौली ठेकी लिएर आउनुभएको थियो । उहाँले उक्त ठेकीमा आफ्नो मौलिकपनसँगै पुर्खाका भावनासमेत जोडिएको सुनाउनभुयो । गोर्खाबाट ललितपुर बसाइँसराइ गर्दासमेत उहाँले पुख्र्यौली भाँडाकुँडासँगै राख्नुभएको बताउनुभयो । 

    “यो ठेकीमा कुनै बेला कति मोही पारियो पारियो”, देवकुमारीले भन्नुभयो, “सानैमा बिहे गर्दिए, यस्तै ठेकी जत्रै थिएँ । अहिले यसैलाई हेर्दै विगत सम्झिँदा रमाइलो लाग्छ ।”

    आदिवासी जनजातिको परम्परागत गरगहना, भाँडाकुँडादेखि रहनसहनमा सबैका कथा समेटिएका छन् । महोत्सवमा यिनै कथा र भावना साटासाट गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदैछन् । जसमा नयाँ पुस्ता र पाका पुस्ता एक साथ रमाइरहनुभएको थियो ।  

    भक्तपुर घर भएकी सोरठी गुरुङले आफूले लगाएका पुख्र्याैली गहनाको बेलीविस्तार सुनाउनुभयो । मखमली चोली, छिट्को गुन्यो र नीलो पटुकीमा चिटिक्क परेकी सोरठीले पुर्खाले दिएको मुगामाला (पिरुमाला), शिरमा शिरफुल, शिरबन्दी र हबेल माला अति मायाले सम्हालेको बताउनुभयो । उहाँका अनुसार ती गहना आमाले बिहेका बेला माइतीका तर्फबाट उपहार दिनुभएको थियो । 

    “यो गहना जति पुरानो हुन्छ, उति नै महत्वपूर्ण लाग्छ”, उहाँले भन्नुभयो, “जति दुःख परे पनि पुख्र्यौली गहना बेच्दिन भनेर जोगाएर राखेकी छु ।”

    सोरठीका दुई छोरी छन् । आफूले यी गहनाहरु छोरीलाई उपहार दिने सोच राखेको उहाँले बताउनुभयो । हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म परम्परागत गहना हस्तान्तरण हुँदै आएको उहाँले बताउनुभयो । 

    महोत्सवमा गुरुङ समुदायका पुरुष पनि उत्तिकै परम्परागत शैलीमा देखिनुभयो । महोत्सवमा संयुक्त परिवारसँगै टुँडिखेल आउनुभएका ७० वर्षीय धर्ने गुरुङले ७ वर्षको नातिलाई परम्परागत पोसाक कछाड लगाउने तरिका सिकाउँदै हुनुहन्थ्यो । उहाँले युवा पुस्तालाई समेत साथमा लिएर संस्कार र संस्कृति बुझाउँदै हुनुहुन्थ्यो । 

    “कछाड लगाउन नातिले जान्दैन, सिकाउनु त पर्यो”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परा नाति पुस्ताले सिकून् भन्ने रहर लाग्दोरहेछ ।”

    धर्नेले जस्तै, महोत्सवमा कला, संस्कृति र वेशभूषादेखि गुरुङ समुदायको जीवनशैलीसमेत प्रदर्शन गरिएको थियो । खासगरी, गुरुङ समुदायले खाने परम्परागत परिकारका कक्ष धेरै थिए । सेलरोटी, बङ्गुरको मासु, अचारलगायत परिकार पकाएर उनीहरुले दर्शकको मन तानेका छन् । रक्सी बनाउने परम्परागत कलासमेत प्रदर्शनीमा देखाइएको थियो ।

    महोत्सवका संयोजक राजु गुरुङले गुरुङ समुदायको मौलिक संस्कृतिलाई सामूहिक रुपमा मनाउने र अरू समुदायलाई समेत उत्सवमा आकर्षित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।