पुस १५, २०८२ मंगलबार

काठमाडौं, १५ पुसः नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३ औँ किन्डर ओलम्पिक आज सम्पन्न भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब एक हजार ६०० विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । 

    दशरथ रङ्गशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार ५४० विद्यार्थी सहभागी थिए ।

    सहभागीहरूको ‘मार्चपास’पछि पूर्वसांसद माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको ‘टर्च’ हस्तान्तरण गर्नुभएको थियो । कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले ‘टर्च’लाई दशरथ रङ्गशालाको ट्रयाकमा परिक्रमा गराउनुभएको थियो । 

    विभिन्न १२ खेलमा प्रतिस्पर्धा भएको कार्यक्रममा बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएका थिए । एनएसएसएफका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागिताका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भएको र यसमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी संस्करण अझ भब्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

     यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई ‘टर्च’ हस्तान्तरण गर्नुभएको थियो ।

    सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले २०१२ मा ‘इसिइटीए’ले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।