लुम्बिनी, १५ पुसः नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी अवलोकनमा पुगेका रुपन्देही तिलोत्तमाका युवा सङ्गम अर्याल प्रदर्शनमा राखिएका फोटोले इतिहासलाई बुझ्ने र वर्तमानलाई महसुस गर्ने अवसर मिलेको बताउनुहुन्छ ।
उहाँले प्रदर्शनीमा राखिएका ऐतिहासिक तस्बिरले आफूले नदेखेका, नबुझेका धेरै कुरालाई अध्ययन गर्ने अवसर मिलेको बताउनुभयो । यसका साथै तस्बिरले आफ्नो पुस्ताले देखेका र भोगेका घटनालाई पुनःस्मरण गराएको उहाँले उल्लेख गर्नुभयो ।
यहाँको बुटवल मण्डपमा आयोजित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवमा राखिएको फोटो प्रदर्शनी अवलोकन गर्न मानिसहरूको भीड लाग्ने गरेको छ । प्रदर्शनीमा यस क्षेत्रका पुरातात्विक, विभिन्न समयका महत्त्वपूर्ण घटना, पर्यटकीय क्षेत्र, सांस्कृतिक धरोहर र प्राकृतिक सम्पदाका तस्बिर राखिएका छन् । ती तस्बिर अवलोकन गर्दा धेरै कुराको जानकारी मिलेको बुटवल–१३ का विद्यार्थी सागर बस्याल बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “प्रदर्शनीमा राखिएका तस्बिरले छोटो समयमा साचिक्कै धेरै कुरा बुझ्ने अवसर मिल्यो ।”
आज तस्बिर प्रदर्शनीस्थलमा आज ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रमसमेत आयोजना गरियो । त्यस अवसरमा बोल्ने वक्ताहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव दिए ।
सहभागी विभिन्न संस्थाका प्रतिनिधिले संस्थागत योजना र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
अन्तरसंवादमा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईँले तस्बिर र समाचार इतिहासका साक्षी भएको बताउनुभयो । उहाँले तस्बिरले समय, घटना र समाजलाई जीवन्त बनाउने बताउनुभयो । “तस्बिर केवल तस्बिर मात्र होइनन्, इतिहास पनि हुन्”, चापागाईँले भन्नुभयो, “यसको संरक्षण र अध्ययनले भावी पुस्तालाई तथ्य र अनुभूति दुवै दिन्छ ।”
महासङ्घका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूपको संज्ञा दिनुभयो । उहाँले प्रविधिले फोटो सङ्कलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको उल्लेख गर्दै भन्नुभयो, “अब कागजमा मात्रै राखेर हुँदैन, डिजिटल माध्यमबाट सबै सामग्री सुरक्षित गर्नुपर्छ । संस्थागत रूपमा डिजिटल अभिलेख बनाउने समय आइसकेको छ ।”
महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्रीलाई जीवित इतिहास भन्दै सकारात्मक सन्देश दिने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो ।
मणिमुकुन्द सेन उद्यान परिषद्का अध्यक्ष माधव नेपालले तस्बिरमा हुने शक्तिको महत्त्वबारे चर्चा गर्दै तस्बिर पर्यटन उद्योगको अभिन्न हिस्सा भएको बताउनुभयो ।
रूपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासङ्घसँगको संस्थागत सहकार्यलाई बलियो बनाउन यति ठूलो लगानी गरेर फोटो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । “फोटो कथा, भावना र स्मृति दिलाउने माध्यम हो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई जोड्न प्रविधिलाई पछ्याउनुपर्छ, उद्योग र अर्थतन्त्रको विकासका लागि रचनात्मक सुझाव आवश्यक छ ।”
रूपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा सहयोग पु¥याउने बताउँदै पत्रकार महासङ्घले गर्ने यस्ता रचनात्मक कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, महासङ्घ रुपन्देहीका सल्लाहकार तथा रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी, खिमानन्द भट्टराई, र अध्येता विजय हितानले फोटो पत्रकारिताले राजनीति मात्र होइन, वातावरण संरक्षणजस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रदर्शनीमा राखिएका तस्बिरको बिक्री, आम्दानी र संस्थागत सहयोगमा प्रदेशस्तरीय पत्रकारिता कोषको स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।