पुस १७, २०८२ बिहिबार

फुङ्लिङ (ताप्लेजुङ), १७ पुसः यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो । विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ । 

    वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गएको दुई वर्ष तालिम सञ्चालन गरिएको थियो । 

    तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । १६ महिला आवद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । 

    उद्यमीहरुलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङ्लिङ नगरपालिका—१० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको छ । वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको हो । 

    वडाको चालु आर्थिक वर्षको करिब पाँच लाख बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो । फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गर्नुभयो । उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाललगायतका सामग्री उत्पादन हुँदै आएको छ ।