पुस १७, २०८२ बिहिबार

अत्तरिया (कैलाली), १७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् । विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

    हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२९ मतदाता थिए । 
    
    प्रदेशभरी एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।