म्याग्दी, १८ पुसः म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ ।
धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।
वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गर्नुभएको थियो । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा दुईतले सातकोठे स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो ।