देउखुरी (दाङ), १८ पुसः माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ।
यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ शुक्रबारका रमा चौधरीले बताउनुभयो । उहाँले भन्नुभयोे, “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याएका छौँ । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने र पिसाउने काम पनि सुरु भएको छ ।”
खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गरेर माघेसङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघ पर्व मनाउने प्रचलन रहेको छ ।
घोराही–२ का सुशील चौधरीले थारु समुदायले माघमा गाउँको मुखिया, घरमूली चुन्ने, चौकीदार, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिने गरिएको बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा र आगामी कार्ययोजना बनाउने पर्वका रूपमा पनि माघीलाई लिने गरिएको उहाँले सुनाउनुभयो ।
थारु समुदायका पुरुषले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने प्रचलन छ । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरमा खिचडी दान गर्ने प्रचलन रहेको छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याउने गरिएको थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, उहाँले भन्नुभयो ।
माघीको अघिल्लो दिन बिहानै गाउँघरका मानिस जम्मा भई बङ्गुर, सुँगुर मारेर (थारु भाषामा जिता मार्ना) बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खानुका साथै यस अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ ।
घोराही– ६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिने उहाँले उल्लेख गर्नुभयो ।
माघी महोत्सवको तयारी
माघ नजिकिदै गएसँगै थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले धमाधम सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन् । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका– १५ सहिद पार्कमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष चौधरीले भन्नुभयो, “थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघी महोत्सवको आयोजना गरिएको हो ।”
यसै अवसरमा थारु सम्वत् २६४९ आयोजना गरिने भएको छ । थारू समुदायको मौलिक कला, संस्कृति, वेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेटिने आयोजकले जनाएको छ ।
यस्तै, महोत्सवमा थारु परिकारहरू घोंघी, माछा, गङ्गटा, ढिक्री, अनदीको रोटीलगायत परिकारको बिक्री तथा वितरण गरिनेछ । साथै, थारू भाषाका विभिन्न पुस्तक र हस्तकलाका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।