पुस १८, २०८२ शुक्रबार

गलकोट (बागलुङ), १८ पुसः मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी हुनुहुन्थ्यो । उहाँ १२ कक्षामा पढ्नुहुन्थ्यो । औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ । 

    बागलुङ नगरपालिका–१ निवासी मनिषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो । डायलायसिस गराउन थालेको चार वर्ष भयो । सामान्य आर्थिक अवस्था भएका मनिषाको परिवार यतिबेला उहाँको उपचार गराउँदा गराउँदै विपन्न भएको छ । स्वास्थ्य समस्याकै बीचमा स्नातक भर्ना भएकी मनिषाले रोगसँग लड्दा पढाइलाई निरन्तरता दिन सक्नुभएन । स्वास्थ्यले मात्र होइन अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनिषाका लागि सङ्घर्ष बन्दै छ । 

    मनिषालाई चिकित्सकले मिर्गाैला प्रत्यारोपणको सुझाव दिएका छन् । आमा मीना बोसेल मिर्गौला दिन तयार हुनुहुन्छ । तर जाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाका माध्यमबाट आपिल गरि पैसा सङ्कलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन् ।

    मनिषा जस्तै धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ । आर्थिक अवस्था कमजोर रहेका कमललाई मिर्गाैलामा समस्या देखिएको चार वर्ष पुग्यो । श्रीमती, छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मिर्गाैला प्रत्यारोपणको सुझाव दिएका छन् । श्रीमतीले मिर्गाैला दिन तयार भए पनि आर्थिक अवस्था कमजोर हुँदा कमलले जाँचको समेत प्रक्रिया अगाडि बढाउन सक्नुभएको छैन ।

    धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक रु पाँच हजार सहयोगी भए पनि साध्य हुन सकेको छैन । मिर्गाैला मिल्ने गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम रु २० लाख खर्च हुन्छ भनेका छन् । तर, कमलसँग निःशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडासमेत छैन । 

    धौलागिरि अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराइरहेका छन् । केही अझै पालोको पर्खाइमा छन् । नेपाल सरकारले मिर्गाैलाका बिरामीलाई मासिक रु पाँच हजारसहित डायलायसिस सेवा निःशुल्क दिएको छ । मिर्गाैलाले काम गर्न छाडेपछि कि नियमित डायलायसिस गर्नुपर्छ कि मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि सरकारले दिएको डायलायसिससँगै रु पाँच हजार प्रत्यारोपणका लागि पर्याप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताउनुभयो ।