असोज १०, २०७८ आइतबार

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम सम्पन्नपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।  

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुसी लागेको बताए । कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँचओटा मण्डप रहने छ । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको छ ।