सिरहा, २१ पुसः लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लहान–२० र २१ ले संयुक्त रुपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार शिविर विशेष गरी ३० वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो । विपन्न तथा दलित समुदायका महिला बढीजसो पाठेघरसम्बन्धी समस्याबाट पीडित भएकाले आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिने प्रमुख चौधरीले जानकारी दिनुभयो ।
“शिविरबाट समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तेजकुमारी श्रेष्ठका अनुसार यसअघि गत जेठमा लहान–१५ र १७ मा शिविर सञ्चालन गरिएको थियो । यस्ता शिविरबाट ग्रामीण क्षेत्रका महिलालाई लाभ पुगेको उहाँको भनाइ छ ।