पुस २२, २०८२ मंगलबार

काठमाडौँ, २२ पुसः दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो ।
 
    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षक एवं प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
 
    सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न इभेन्टमा विजयी खेलाडीलाई बधाई दिँदै आगामी दिनमा खेलाडीको उज्ज्वल भविष्यको कामनासमेत गर्नुभयो । यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो सीप प्रदर्शन गर्ने, आत्मविश्वास विकास गर्ने तथा किताबी ज्ञानका अतिरिक्त खेलमार्फत पनि जीवनका अमूल्य पाठ सिक्ने अवसर प्रदान गरेको उल्लेख गर्दै प्रतियोगितामा खेलाडीले देखाएको सक्रिय सहभागिता, प्रयास र लगनशीलताको उहाँले उच्च प्रशंसा गर्नुभयो ।
 
    विद्यालयस्तरको तेक्वान्दो खेल विकासलाई सुनिश्चित बनाउँदै नवप्रतिभाको पहिचान गरी विद्यार्थीमा खेलकुदको प्रवर्द्धन गर्नसमेत यो प्रतियोगिताले योगदान दिएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विद्यालयको चौतर्फी विकास र समग्र विद्यार्थीको बृहत्तरहितका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव गम्भीर रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र शिक्षिका तथा अभिभावक वर्गले सहकार्य गरी विद्यालयको उन्नतिका लागि सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।
 
    प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरलगायत ४५ वटा विद्यालय र डोजाङका करिब ६०० जना तेक्वान्दो खेलाडीको सहभागिता थियो ।