पुस २२, २०८२ मंगलबार

मलङ्गवा (सर्लाही), २२ पुसः जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्लास्तरीय महिला प्रतिनिधिका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, त्यसले महिलाको जीवनयापनमा पार्ने असर तथा जैविक विविधता संरक्षणमा महिलाको भूमिकाबारे छलफल गरिएको थियो । 

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर तथा अत्यधिक गर्मीले कृषि उत्पादन, खाद्यसुरक्षा र महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका विषयका बारेमा जानकारी गराउनुभयो । विशेषगरी ग्रामीण क्षेत्रका महिला प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित हुने गरेका उहाँको भनाइ छ । 

    यस्ता प्रशिक्षण तथा संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनीकरणका बारेमा छलफल हुनुका साथै वातावरण संरक्षणमा महिला प्रतिनिधिको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने पाठकले बताउनुभयो । 

    जलवायु विशेषज्ञ हेम पाठकले मौसम र जलवायुबीचको भिन्नता स्पष्ट गर्दै जलवायु परिवर्तनका असरसम्बन्धी विश्वव्यापी असरबारेका प्रस्तुतीकरण गर्नुभयो । उहाँले मानव क्रियाकलापका कारण हरितगृह ग्यास उत्सर्जन बढ्दै जाँदा जलवायु परिवर्तनका नकारात्मक असर देखिन थालेको उल्लेख गर्नुभयो ।
    
    जिल्ला समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवालसहित जिल्लाका विभिन्न पालिकाका महिला जनप्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलनका उपाय तथा स्थानीय तहमा जैविक विविधता संरक्षणका अभ्यासबारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।

    कार्यक्रम महिला अधिकार तथा स्रोत सञ्जालको आयोजनामा तथा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको सहयोगमा सम्पन्न भएको हो ।