पाटन (ललितपुर), २२ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको आज अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकहरुसँग अन्तक्र्रिया गर्नुभएको छ ।
ज्यापू समाज यलका पदाधिकारीको निमन्त्रणामा बागडोल पुग्नुभएका मन्त्री खरेलले ज्येष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको काम प्रशंसनीय भएको बताउनुभयो ।
“ज्येष्ठ नागरिकको व्यवस्थापन सरकारले गर्नुपर्छ, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ”, उहाँले भन्नुभयो ।
समयक्रमसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले सबैको खुसीका लागि सरकारले सक्दो काम गर्ने बताउनुभयो ।
“हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउनका लागिपरेका र्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न ‘सम्पदा यात्रा’ कार्यक्रम नेपाल टेलिभिजनमार्फत सञ्चालन गर्ने तयारी छ”, मन्त्री खरेलले भन्नुभयो । ज्येष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवं सञ्चालनका लागि न्यूनतम दश वर्षको योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ज्येष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा थप ज्येष्ठ नागरिकको सेवा गर्ने योजना रहेको बताउनुभयो ।