काठमाडौँ, २२ पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।
“हाल मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिम्मेवार भूमिका निर्वाह गर्न म सम्पूर्ण नागरिकलाई आग्रह गर्दछु”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ । उहाँले मुलुकका केही भूभागमा पछिल्ला दिनमा केही सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले हाम्रो साझा सामाजिक सद्भावलाई चुनौती दिएको दुःखद घटनाले सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गर्नुभएको छ ।
“नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ, जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिक सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौँ, हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, यसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।
आपसीद्वन्द्व र वैमनस्यता त्यागेर शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्नुपर्ने उहाँको भनाइ छ । धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभइ समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्दै कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन तथा संवाद, मेलमिलाप, भाइचारा, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभएको छ । स्थानीय प्रशासन, धार्मिक अगुवाजन तथा नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले साझा लक्ष्य एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण गर्नु भएको बताउनुभएको छ ।
“नेपाल हाम्रो साझा फूलबारी हो । यस फूलबारीलाई सुन्दर, मनमोहक, सुरक्षित, सम्मानजनक र प्रेमपूर्ण बनाउन हामी सबैको समान जिम्मेवारी, दायित्व र कर्तव्य हो । यसमा कत्ति पनि विचलित नभइ मुलुकको समुन्नत र दिगो विकासका लागि हामी सबै दृढ सङ्कल्पका साथ अगाडि बढ्नुपर्छ”, उपराष्ट्रपति यादवले सबैमा अपिल गर्नुभएको छ ।