पुस २२, २०८२ मंगलबार

कैलाली, २२ पुस : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बडिमालिका–रामारोशन वन क्षेत्रको संरक्षण र विकासलाई सँगसँगै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका बडिमालिका र रामारोशन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

    स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्यमा पर्यटन पूर्वाधार विकास गरिने उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहले बडिमालिका र रामारोशन क्षेत्रमा विद्यमान विविध समस्या र संरक्षणका सम्भावनाबारे गहन विचार–विमर्श गर्नुपर्नेमा जोड दिनुभयो । 

    उहाँले पर्यटन प्रवर्द्धन, सम्वर्द्धन तथा वन क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरेको तथा आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । 

    कार्यक्रममा बडिमालिका र रामारोशन वन क्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । वक्ताहरूले बडिमालिका र रामारोशन क्षेत्र जैविक विविधता, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पूर्वाधारको अभाव समस्या विद्यमान रहेको उल्लेख गरेका छन् । 

    यसैबीच बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।