काठमाडौँ, २३ पुस: नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ । प्रस्तुत छ, निर्वाचन सुरक्षा, फरार अपराधी र लुटिएका हतियार पक्राउ र प्रहरीको मनोबललगायत विषयमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसँग राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः
सिङ्गो मुलुक निर्वाचनमा होमिइसकेको छ, निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छ । मुलुकको समग्र सुरक्षा अवस्था कस्तो छ ?
मुलुकको सुरक्षा व्यवस्था मजबुत छ । भरपर्दो सुरक्षा प्रबन्ध गरिएको छ । प्रहरीको सबै युनिटहरु सशक्त ढङ्गबाट परिचालित छन् । निर्वाचन लक्षित सुरक्षा गतिविधि सुरु भएका छन् । केन्द्र, प्रदेश तथा जिल्लास्तरसम्म निर्वाचन सेल गठन गरी प्रत्येक निर्वाचन सेलमा ‘फेकल पर्सन’ तोकी कार्यसम्पादन भइरहेको छ । निर्वाचनको वातावरण बनाउन मातहतका युनिटलाई निर्वाचन लक्षित गस्ती÷पेट्रोलिङ, पिकेट, चेकिङलगायत कार्यमा प्रहरी परिचालन गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयको पुनःनिर्माण एवं सवारी साधनको व्यवस्थापनको कार्यलाई तीव्रता दिई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिएको छ । सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गरिएको छ ।
फरक परिस्थितिमा हुन गइरहेको निर्वाचनमा विभिन्न पाटोबाट सुरक्षा चुनौती औँल्याइएको छ । यसलाई प्रहरी सङ्गठनले कसरी लिएको छ ?
निर्वाचनको समय नजिकिँदै गर्दा जेनजी युवा समूह, पुराना तथा नयाँ राजनीतिक दलबीचको मदभेद र अन्र्तद्वन्द्व बढ्न सक्छ । आन्दोलनपछिका राजनीतिक विभाजन र असहमतिका कारण विभिन्न पार्टी वा समूहले निर्वाचनलाई बहिष्कार वा अवरोध गर्नसक्ने सम्भावनाका साथै मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीलाई धम्की वा हिंसालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ । निर्वाचन विरोधी समूहबाट हुनसक्ने गतिविधिलगायत जातीय, धार्मिक र साम्प्रदायिक समूहबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप, सामाजिक सञ्जालबाट प्रवाह हुने गलत सूचनाले पार्ने प्रभावलाई पनि सुरक्षा सङ्गठनले चुनौतीका रुपमा लिएको छ । दुर्गम, विकट तथा हिमाली क्षेत्र र प्रतिकूल मौसमबाट सिर्जित हुने अवस्थाले पनि चुनौती थप्न सक्ने अनुमान छ । अहिलेसम्म समग्र रुपमा गम्भीर सुरक्षा चुनौती सामना गर्न परेको छैन । दैनिक सुरक्षा व्यवस्थापनका काम भइरहेको छ । यसका लागि गहृमन्त्रालय, प्रहरी प्रधान कार्यालय र मातहतका सबै युनिटसम्म सुरक्षा चुनौतीको पहिचान गर्ने र सोबमोजिम खतराको विश्लेषण गरेर योजना बनाउनेसम्मका काम भइरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार छ । सोही आधारमा निर्वाचन लक्षित जिल्लास्तरका सुरक्षा योजना बनाई कार्यान्वयन भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदीका कारण सुरक्षा चुनौती रहेको भनिएको छ । यसलाई प्रहरी सङ(्गठनले कसरी हेरेको छ ?
लुटिएका हतियार फिर्ता ल्याउन र कैदी एवं थुनुवालाई फर्काउन प्रहरी सङ्गठनले सम्पूर्ण प्रहरी जनशक्तिलाई परिचालित गरिसकेको छ । सुरक्षा सङ्गठनबीच एकीकृत र एकल रुपमा सम्पूर्ण संयन्त्रलाई यसै विषयमा केन्द्रित गरिएको छ । फरार अपराधी पक्राउ गर्ने, लुटिएका र हराएका हातहतियार बरामद गर्न नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । दैनिकजसो फरार अपराधी, कैदीबन्दी र थुनुवा पक्राउ परिरहेका छन् । सूचना सङ्कलन र सङ्केत ‘एरिया’मा विशेष खनतलासी गर्ने काम भइरहेको छ । अधिकांश अपराधी र हातहतियार नियन्त्रणमा आइसकेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका अधिकांश भौतिक संरचना निशानामा परे । पुनःनिर्माणमा नागरिक तहबाट कस्तो सहयोग रह्यो ?
आन्दोलनका क्रममा जुन भौतिक क्षति भयो । त्यसपश्चात् पुनर्निर्माणमा नागरिक र प्रहरी सङ्गठनबीच घनिष्ठ सहकार्य रह्यो । पुनःनिमाणका क्रममा नेपाल प्रहरी सङ्गठनले कमाएको जनविश्वास स्पष्ट देखियो । नागरिकहरु एकजुट भई त्यस्तो गम्भीर परिस्थितिबाट सहजरुपमा भौतिक संरचना पुनर्निर्माण गरिसकेका छौँ । आन्दोलनका क्रममा एक सय ४३ भवन पूर्ण र तीन सय १६ आंशिक गरी चार सय ५९ युनिटमा क्षति पुगेकामा अहिलेसम्म चार सय ४९ युनिट पुनःनिर्माण भई सञ्चालनमा आइसकेको छ । यसमा नागरिक सहकार्य र सहयोग अतुलनीय छ । सहयोगी मनप्रति प्रहरी सङ¬्गठन सम्मान प्रकट गर्दछ । नागरिककै लागि प्रहरी अहोरात्र खटिइएको छ । नागरिक सुरक्षाका लागि नेपाल प्रहरीको स्थापना भएको हो । कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा अपराधको सफल अनुसन्धान गर्ने सन्दर्भमा प्रहरी सदा अगाडि छ । यो नै नागरिकको प्रहरीप्रतिको जनविश्वासको आधारस्तम्भ हो ।
पछिल्लो समय प्रहरीको मनोबल खस्केको भन्ने टिप्पणी भइरहेको छ ? यसलाई सङ्गठनले कसरी लिएको छ ?
प्रहरीको मनोबल उच्च छ । यो खस्केको कहिल्यै पनि थिएन र हुने पनि छैन । जेनजी आन्दोलनपश्चात् प्रहरीको मनोबलका विषयमा धेरै टीकाटिप्पणी भए । हामीलाई ठूलो जनविश्वास प्राप्त भएको छ । नागरिकसँगको सहकार्यबाटै क्षतिग्रस्त भवनहरु पुनर्निर्माण गर्न सफल भएका छौँ । हाम्रा हरेक गतिविधि र क्रियाकलापमा आमनागरिकको साथ र सहयोग छ । नयाँ सङ्गठन प्रमुख आइसकेपछि आबद्ध प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा, सुविधा र सहुलियतमा पनि पहिलो प्राथमिकता राखेर विभिन्न कल्याणकारी योजना अघि सारिएको छ । कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र आश्रित परिवारलाई रोजगारीको प्रबन्ध गरिएको छ । घाइते प्रहरी कर्मचारीलाई उपचार खर्च, अन्य सेवासुविधालाई पनि उच्च प्राथमिकता दिइएको छ । नेपाल प्रहरीसँग विगतका चुनौतीपूर्ण अवस्थामा पनि निर्वाचनलाई सफल बनाएको अनुभव छ । त्यो अनुभव, सीप, ज्ञान र तालिमलाई यसपटकका निर्वाचनमा पूर्णरुपमा प्रयोग गरेर चुनावलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउछौँ । नेपाल प्राप्त जिम्मेवारी पूरा गर्न अहोरात्र खटिइएको छ ।
हरेक निर्वाचन छोटो समयका लागि ‘निर्वाचन प्रहरी’ पनि भर्ना गर्ने गरिएको छ । यसपटक निर्वाचन प्रहरी भर्नाको प्रक्रिया कसरी अघि बढ्दैछ ?
निर्वाचनमा ७७ हजार प्रहरी परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने गरिएको छ । एक लाख ३३ हजार नौ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्न प्रस्ताव गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि, २०८२ को स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीबमोजिम भर्ना प्रक्रिया सुरु हुनेछ । त्यसलगत्तै तालिम सुरु गरिनेछ । तालिम समापनपछि सम्बन्धित निर्वाचन क्षेत्रमा उहाँहरुलाई खटाउँछौँ । भर्ना छनोटका आधार तयार भइसकेको छ । २०७९ र २०७४ को निर्वाचनमा खटिइएका ‘म्यादी प्रहरी’लाई छनोटमा प्राथमिकता दिइनेछ । त्यसैगरी पूर्वसुरक्षाकर्मी र पूर्ववन रक्षक, सुरक्षा निकायमा भर्ना हुनका लागि आधारभूत शारीरिक परीक्षा र स्वास्थ्य परीक्षण उत्तीर्ण भएकालाई पनि भर्ना लिइनेछ । फौजदारी अभियोग नलागेका, नैतिकवान्, १८ देखि ५४ वर्षसम्मका व्यक्तिलाई भर्ना प्रक्रियामा सहभागी गराउन प्रस्ताव गरिएको छ । निर्वाचन प्रहरीले नेपाल प्रहरीको जस्तै निर्वाचनलाई सफल बनाउन, यससँग सम्बन्धित हरेक गतिविधिमा भित्री घेरामै रहेर काम गर्नुपर्नेछ । तालिमका क्रममा उनीहरुलाई त्यससम्बन्धी आधारभूत काम, कर्तव्यका बारेमा जानकारी दिइनेछ ।
मतदातालाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभूति कसरी दिलाउनुहुन्छ ?
निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरिएको छ । दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार चार सय ४२ मतदानस्थललाई संवेदशील र तीन हजार छ सय ८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा हेरिएको छ । सोहीअनुसार नियमितरुपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको छ । भयरहित, निश्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठन कटिबद्ध छ । सम्पूर्ण मतदाता, आमनागरिक र राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयार छ । शान्ति सुरक्षाको विषयलाई लिएर कसैले डर र त्रास मान्नुपर्ने अवस्था छैन । पूर्णरुपमा शान्ति, सुव्यवस्था र अमनचयन काम गराइसकेका छौँ । कानुन पालना गराउन नेपाल प्रहरी सदैव दत्तचित्त भएर खटिइएकै छ ।