पुस २७, २०८२ आइतबार

काठमाडौँ, २७ पुसः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो ।

त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली थियो ।

पछिल्लो समय हरेक वर्ष हुँदैआएको उक्त पदयात्रा यही पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको थियो । सोही अवसरमा जङ्गीअड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रम गरियो ।

 त्यस्तै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा विविध कार्यक्रम सञ्चालन भएको सैनिजक जनसम्पर्क तथा सूचना निर्देशनाले जनाएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको छ ।