पुस २८, २०८२ सोमबार

गण्डकी, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । 

    जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता कायम भएका छन् । मनाङमा तीन हजार ३७७ पुरुष र तीन हजार ६२३ महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार ५२४ महिला, कास्कीमा एक लाख ४८ हजार ५१५ पुरुष र एक लाख ६० हजार ११५ महिला मतदाता छन् । 

    यस्तै तनहुँमा एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला, स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष र एक लाख २६ हजार ३५१ म्हिला मतदाता रहेका छन् । नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छभने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार ४६८ छ । मुस्ताङमा पाँच हजार ५५९ पुरुष मतदाता, महिला पाँच हजार ७६८, म्याग्दीमा ४२ हजार ३०२ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् । 

    बागलुङमा ९४ हजार ८०६ पुरुष मतदाता छन्भने महिला मतदाताको सङ्ख्या ९८ हजार ५७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार ८६५ महिला मतदाता कायम भएका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छ । 

    निर्वाचनका लागि प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् ।