पुस ३०, २०८२ बुधबार

महोत्तरी, ३० पुसः अहिले महोत्तरीसहितका मधेस प्रदेशमा निर्वाचनले राजनीतिक माहोल तताउँदै छ । यो चिसो मौसममा आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनले दिनानुदिन राजनीतिक माहोल तताउँदै लगेको हो । निर्वाचनका लागि दलहरु र सम्बद्ध निकायको तयारीले यहाँको परिवेश दिनदिनै चुनावमय बन्दैछ ।  

आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त चार स्थानका लागि मधेसमा पनि निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवार बनेका र सम्बद्ध दल परिणाम आफ्नो पक्षमा पार्न अहोरात्र जुटेका छन् । यसैगरी राष्ट्रियसभाको निर्वाचन तयारीकै बीच आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको तालिका पनि सँगसँगै छ ।

राष्ट्रियसभाको निर्वाचनपूर्व माघ ६ गते प्रतिनिधिसभाका लागि उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने तालिका छ । यो तालिकाले गर्दा दलहरु अहिले उम्मेदवार छनोटको अन्तिम तयारीमा छन् भने आम सर्वसाधारणले पनि यसपालि कुन दलले कसलाई उम्मेदवार बनाउँदैछन् भन्ने चासो राखेको पाइन्छ । आमसर्वसाधारण निर्वाचनको तयारीले उत्साहित देखिँदा छन् ।

    “जाडो छ, दलहरु भने भेटघाट भन्दै चुनावी चर्चा लिएर दिनदिनै आउँदैछन्”, महोत्तरी क्षेत्र नं १ प्रतिनिधिसभा क्षेत्रमा पर्ने भङ्गाहा–३ कटैया बस्तीकी सर्वसाधारण गृहिणी ५० वर्षीया रामराजी यादव भन्नुहुन्छ, “चुनाव लागेपछि जाडो पनि नभनी भेटघाटमा छन् ।” यो चुनावको मौसमले यसअघि खोज्दा नभेटिएका दलका नेता पनि आफ्नै बस्तीमा पटकपटक भेटिन थालेका यादवकै छिमेकी चन्द्रकला यादव बताउनुहुन्छ । निर्वाचनमा को कस्ता उम्मेदवार र दल के के भन्दैछन्, यो कुरामा आफ्ना चासोका कुरा कति छन् ? बुझ्न पाइने कुराले उत्साहित बनाएको चन्द्रकला बताउनुहुन्छ ।

    चन्द्रकलाजस्तै भङ्गाहा–४ रामनगरका ३० वर्षीय युवा रामइश्वर ठाकुर पनि उत्साहित हुनुहुन्छ । यसअघिका निर्वाचनभन्दा यसपालि युवा, महिला र उपेक्षित जनजाति तथा दलितको प्रतिनिधित्व बढ्ने ठाकुरको अपेक्षा छ । अहिले गाउँ÷नगर बस्तीका घरघरैजसो चुनावी चर्चा चुलिएको छ । यसबेला आमसर्वसाधारण जाडो छल्न ‘घूर’ (पातपतिङ्र बटुलेर बालिएको आगो) वरिपरि बस्दा पनि यसपालि कसले जित्ला भन्ने आपसी चर्चा गरिरहेका भेटिन्छन् । 

    महोत्तरीको क्षेत्र नम्बर ४ को रामगोपालपुर–२ महनपुरका ६० वर्षीय कादिर हुसैन भन्नुहुन्छ, “अहिले दिने वास्ता सधैँ दिनसक्ने उम्मेदवार भने हामीले छान्नुपर्छ ।” दलहरुको चुनावी तयारी आम सर्वसाधारणको विभिन्न अड्कलबाजीले जताततै राजनीतिक चहलपहल बढाएको छ । लगभग सबै दल चुुनावी तयारीमा लागेपछि यसअघि चुनाव होला र ? भन्ने सन्देह हटेको बुद्धिजीवी बताउँछन् । 

“अब चुनाव हुन्न कि भन्ने सन्देह रहेन, चुनावका मुख्यपक्ष दलहरु हुन्, सबै दललाई चुनावले छोपेको देखिँदै छ”, जलेश्वर–५ का बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “जसले जितुन्, चुनावी डङ्का भने अब बज्यो ।” रायजस्तै भङ्गाहा–७ मेघरोलका बासिन्दा माध्यमिक विद्यालयको प्रधानाध्यापक सेवाबाट अवकास पाउनुभएका चन्द्रनारायण सिंह थारु पनि अब निर्वाचनको संशय हटेको बताउनुहुन्छ । “अब सबै निर्वाचनमा जुटेका देखिँदा छन्, निर्वाचन पक्का हुने भयो”, थारु भन्नुहुन्छ, “अब जनताले मान्छे हेरेर योग्य उम्मेदवारलाई जिताउनपर्छ ।”

दलहरुको चुनावी तयारी, सर्वसाधारणको चुनावी चर्चा चुलिएकै बेला जिल्ला निर्वाचन कार्यालय र निर्वाचन सुरक्षा तथा व्यवस्थापनसम्बद्ध निकाय एवं कार्यालयले तालिकाअनुसारका निर्वाचनका कार्यक्रम अघि बढाइरहेका छन् । “हाम्रा काम चुनाव केन्द्रित भएका छन्, प्रत्येक दिन हामी निर्वाचन तयारीका काममा छौँ”, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ, “अबको मुख्य ध्येय नै निर्विकल्प निर्वाचन सम्पन्न गर्नु हो ।”

प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा चार निर्वाचन क्षेत्र छन् । यहाँ अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल र जनमतसहितका दलहरुले उम्मेदवार छनोटको प्रारम्भिक सिफारिस आआफ्ना दलका उपल्लो निकायमा गरिसकेका छन् । रास्वपाले भने उम्मेदवार बन्न इच्छुकलाई पुस २६ गते शनिबारभित्र अनलाइन माध्यमले दाबी गर्न सूचना जारी गरेको थियो । त्यसैअनुरुप इच्छुकहरुले पार्टी केन्द्रीय कार्यालयमा पुग्नेगरी दाबी गरेका हुनपर्ने रास्वपा बर्दिबास नगर कमिटीका अध्यक्ष उदयबाबु खतिवडा बताउनुहुन्छ ।

“हामीले उम्मेदवारको प्रारम्भिक सिफारिस गरेर प्रदेश कमिटीमा पठाएका हौँ, प्रदेश कमिटीले आफ्नो रायसमेत गाभेर त्यो सिफारिस केन्द्रमा पठाइसकेको छ”, नेकपा (एमाले) महोत्तरीका अध्यक्ष बलिराम यादव भन्नुहुन्छ, “हामीले सिफारिस गरेमध्येकै कोही पर्ने त हो, पार्टी केन्द्रले जसलाई पठाए पनि हामी निर्वाचनमा होमिन्छौँ ।” एमालेजस्तै नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल र जनमतसहितका दलले पनि उम्मेदवारको प्रारम्भिक सिफारिसको काम सकिएको जनाएका छन् । यता रास्वपाले भने उम्मेदवार बन्न इच्छुकले गरेका अनलाइन दाबीमाथि विचार गरेर उम्मेदवारको टुङ्गो लगाउने सो दलका बर्दिबास अध्यक्ष खतिवडाको भनाइ छ ।  

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी, २ र ३ बाट लोसपा नेपालका शरत्सिंह भण्डारी र महन्थ ठाकुर एवं ४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको थियो । यसपालिको निर्वाचनमा पनि लोसपाका ठाकुरबाहेक अन्य तीनै जना सम्भावित सूचीमा रहनुभएको सम्बद्ध दलहरुले जनाएका छन् । लोसपाका राष्ट्रिय अध्यक्ष ठाकुर भने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको हुँदा प्रतिनिधिसभाको दौडमा हुनुहुन्न । 

यसैबीच दलहरुको यो तयारीसँगै जिल्ला निर्वाचन कार्यालयले  निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । “हामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगको तालिकाअनुसार अघि बढेका छौँ, सबै कार्य तालिकाअनुसार सम्पादन हुँदै आएका र बाँकी पनि यसैअनुसार सम्पन्न गरिने छन्”, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा भन्नुहुन्छ, “हामी (जिल्ला निर्वाचन कार्यालय) र अन्य सम्बद्ध सबै निकाय निर्वाचनको तयारीमा आवश्यक समन्वयमा छौँ ।”

महोत्तरीमा यसपालि चार लाख ३१ हजार २८२ मतदाता छन् । त्यसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र दुई अन्य छन् । यसअघिको २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता जिल्लामा यसपालिको निर्वाचनका लागि ३९ हजार ७०५ मतदाता बढेका छन् । यसअघि २०७९ मा यो सङ्ख्या तीन लाख ९१ हजार ५७७ थियो ।

क्षेत्रगत रुपमा सबैभन्दा बढी ३ नम्बर क्षेत्रमा एक लाख १० हजार ४३६ मतदाता छन् । यसैगरी क्रमशः क्षेत्र नम्बर ४ मा एक लाख सात हजार ६०६, क्षेत्र नम्बर २ मा एक लाख सात हजार ५९४ र सबैभन्दा कम क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ६४६ रहेका जिल्ला निर्वाचन अधिकारी झाको भनाइ छ ।

यसपालिको निर्वाचनमा यसअघि कायम मतदानस्थल २५८ नै रहने छन् । यद्यपि मतदान केन्द्र भने यसअघि (२०७९) को भन्दा ३७ बढाएर ५३६ कायम गरिएको झाले बताउनुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिले मतदान केन्द्रहरुको सुरक्षा विवेचना गरेर १६३ संवेदनशील ठहर गरेको छ । यी धेरैजसो क्षेत्र नम्बर ३ र ४ का भारतीय सीमा नजिकका केन्द्र परेका छन् । यसैगरी क्षेत्र नम्बर १ र २ का पनि यसअघिका अनुभवबाट वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । यसका लागि कार्यालय भवनको व्यवस्थापन भइसकेको उहाँले बताउनुभयो । यी कार्यालय क्षेत्र नम्बर १ को बर्दिबासमा, क्षेत्र नम्बर २ को बलवामा, ३ को जलेश्वरमा र चारको रामगोपालपुरमा रहने तय भएको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । योसँगै निर्वाचन प्रयोजनका लागि जिल्लामा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्नाको प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन तयारीले बढाएको यो चहलपहलसँगै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र आमसर्वसाधारण अब आउने माघ ६ गतेको पर्खाइमा छन् । सो दिन उम्मेदवारी दर्तापछि निर्वाचन अभियानले अझ गति समात्ने आम सर्वसाधारण बताउँछन् ।