सिरहा, १ माघः माघको कठ्याङ्गिँ्र्रदो जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ ।
माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ ।
सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाको रौनक सुरु भइसकेको छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार माघी केवल खानपिनमा मात्र सीमित छैन । उहाँले भन्नुभयो, “थारु जातिका थरीथरीका परिकारको स्वाद लिनु, आफ्नै मौलिक भेषभूषामा सजिनु र थारु भाषाका गीतमा झुम्नु नै माघीको वास्तविक सुन्दरता हो । यसले हाम्रो भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्न मद्दत पु¥याउँछ ।”
त्यस्तै, धनगढीमाईमा ‘तेस्रो जिल्लास्तरीय तिला सङ्क्राइत उत्सव–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नगर संयोजक शम्भू चौधरीले उत्सवमार्फत समुदायको कला र संस्कृति प्रदर्शन गरिने जानकारी दिनुभयो ।
माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै (भाले बासेसँगै) पवित्र नदी वा खोलामा गएर स्नान गर्ने परम्परा छ । नुहाएर फर्किएपछि घरका मान्यजनलाई ढोग गर्ने र ‘खिचडी’ दान गर्ने विशेष चलन छ ।
स्थानीय जानकार अनिल चौधरीका अनुसार यो पर्वले सामाजिक एकता र भ्रातृत्वलाई बलियो बनाउँछ । उहाँ भन्नुुहुन्छ, “हामी माघीमा नुहाएर आएपछि आफूभन्दा ठूलाको आशीर्वाद लिन्छौँ र तिल, चामललगायतका सामग्री दान गर्छौं । यो हाम्रो पुर्खादेखि चल्दै आएको पवित्र संस्कार हो ।” वेशभूषा, नाचगान र खानपिनको सङ्गम मानिने माघीले सिरहाका थारु बस्तीलाई अहिले उत्सवमय बनाएको छ ।