महेन्द्रनगर (धनुषा), १ माघः जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते हुनुभएको छ ।
आज जनकपुरधामस्थित शुभचोकमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा धनुषाको क्षिलेश्वनाथ नगरपालिका रमदैयाभवाडीका ७५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ज७प २८३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।
त्यस्तै, जनकपुरधामको रामानन्द चोकमा टिपरको ठक्करबाट साइकलमा सवार एक महिला गम्भीर घाइते हुनुभएको कुवँरले बताउनुभयो । उहाँका अनुसार प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला बिहारी नगरपालिका–७ तारापट्टीकी ३० वर्षीया नितु साह गम्भीर घाइते हुनुभएको हो ।
नितुको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला तथा भारी सवारीसाधनको अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उहाँको भनाइ छ ।
समय र रुट निर्धारण नगरी टिपर, ट्रक, बस तथा ट्यक्टटरजस्ता सवारीसाधन व्यस्त बजार क्षेत्रमा सञ्चालन हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रहरी नायब उपरीक्षक बमले बताउनुभयो ।
“प्रहरीले स्थिति नियन्त्रणमा लिँदै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेको छ भने टिपरलाई सुरक्षित रूपमा घटनास्थलबाट हटाएर थप अनुसन्धान सुरु गरिएको छ”, प्रहरी प्रवक्ता बमले भन्न्ुभयो । प्रहरीले दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।
व्यस्त बजार क्षेत्रमा बढी क्षमता (ओभरलोड) र तीव्र गतिमा ठूला सवारीसाधन सञ्चालन हुँदा दुर्घटना बढ्दै गएको भन्दै स्थानीयवासीले उपमहानगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
---