भद्रपुर (झापा), ५ माघः माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ ।
भद्रपुर–६ मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकयता माटाका मूर्ति बनाएर जीवन धान्दै आउनुभएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुनुहुन्छ । पिताबाट आर्जेको सीपलाई पेसामा रूपान्तरण गर्दै उहाँले दुई सन्तानको शिक्षादिक्षा र चार जनाको परिवार यही मूर्तिकलामा नै निर्भर हुँदै आएको छ । तर पछिल्लो समय उहाँको यो परम्परागत पेसा आर्थिक सङ्कटमा फस्दै गएको छ ।
राजवंशीका अनुसार लगनशीलता र मेहनतमा कुनै कमी छैन, तर बजारमा बढ्दै गएको अतिक्रमणले उहाँको उत्पादन बिक्न छाडेको छ । ‘अभिषेक मूर्ति उद्योग’ नाममा कानुनी रूपमा सञ्चालनमा रहेको उहाँको उद्योग भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता मूर्तिका कारण व्यवसायमा गम्भीर असरमा परेको छ ।
“अवैध रूपमा भारतबाट आउने मूर्ति नरोकिने हो भने हामीजस्ता स्वदेशी माटोमा पसिना बगाएर खाने कलाकार भोकै मर्नुपर्ने दिन टाढा छैन,” उहाँ पीडा पोख्नुहुन्छ । कुनै समय चर्चित रहेको उहाँको उद्योगले नेपालभर पहिचान बनाएको थियो । अहिले ती दिन सम्झिँदा आफ्नै व्यवसाय बनावटी कथा जस्तै लाग्न थालेको राजवंशी बताउँनुहुन्छ । हिन्दू संस्कृतिका दसैँ, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवी पूजालगायत पर्वका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा उहाँ सक्रिय हुनुहुन्छ । साथै आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिको झलक दिने विभिन्न प्रकारका मूर्ति बनाउँदै आउनुभएको छ ।
भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवतीलगायत जुनसुकै देवीदेवताका मूर्ति माटो र सिमेन्ट दुवै माध्यमबाट बनाउन सक्ने सीप उहाँसँग छ । तर “भारतमा सस्तो मूर्ति पाइन्छ” भन्ने हल्लाले ग्राहक सीमापारि जाने वा भारतीय व्यापारी गाउँगाउँमै पुगेर मूर्ति बेच्न थालेपछि समस्या थपिएको राजवंशी बताउँनुहुन्छ ।
उहाँका अनुसार भारतीय बजारभन्दा आफ्ना मूर्ति सस्ता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले ग्राहकले थाहा नपाउने अवस्था बनेको छ । मूर्तिको व्यावसायबाट नै घरपरिवार चलाउँदै आउनुभएका राजवंशी सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ । उहाँ स्वदेशी श्रम र सीपको सम्मान गर्ने सामाजिक अगुवासमेत हुनुहुन्छ ।
भ्रष्टाचार समाज विचलनको मुख्य कारण भएको ठहर गर्दै राजवंशीले भद्रपुर नगरलाई “भ्रष्टाचार शून्य नगर” बनाउने अभियानसमेत चलाइरहनुभएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत भइरहेका सडक विस्तार र स्तरिकरणका काम कमिशनका कारण गुणस्तरहीन भएको भन्दै आवाज उठाइरहने राजवंशी सामान्य लेखपढ गर्नुभएको भए पनि सचेत नागरिकका रूपमा परिचित हुनुहुन्छ ।
युवापुस्तालाई स्वदेशमै श्रम र सीपको महत्व बुझाउनुपर्ने उहाँको जोड छ । लोकतन्त्रमा इमानदार र सक्षम शासक आवश्यक रहेको बताउने राजवंशी पैसा र पहुँचका आधारमा राज्य सञ्चालन भइरहेसम्म गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने उहाँको बुझाइ छ ।
चार जनाको परिवार पाल्दै समाजमा केही देन दिन सफल भएको अनुभव सुनाउने राजवंशी आफ्ना सीप अरूलाई पनि सिकाउन तयार हुनुहुन्छ । तर मूर्तिकला सिक्न कोही नआएकोमा उहाँ चिन्तित देखिनुहुन्छ । पछिल्लो समय ग्राहक अभावका कारण पेसा नै सङ्कटमा परेको उहाँको गुनासो छ ।
माटोलाई माया गर्ने विष्णु राजवंशी आज पनि भद्रपुरको आदिवासी क्षेत्र महेशपुरमा मूर्तिसँगै रमाइरहनुभएको छ । तर अवैध आयात, राज्यको उपेक्षा र संरक्षणको अभावले उहाँको कला मात्रै होइन, पुस्तौँदेखि चलेको परम्परा नै हराउने खतरा बढ्दै गएको छ । उहाँ भन्नुहुन्छ, “यदि स्वदेशी कला र श्रमको संरक्षण भएन भने, माटोसँग जोडिएको हाम्रो पहिचान इतिहासमै सीमित हुनेछ ।”
––––