माघ ५, २०८२ सोमबार

काठमाडौँ, ५ माघः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ ।

    तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रत्येक जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सहसंयोजक नेपालले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको विचार व्यक्त गर्नुभयो ।

    यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्दै नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    उहाँले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नेता खनालले मुलुकलाई सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्नुपर्ने उल्लेख गर्नुभयो ।