माघ ५, २०८२ सोमबार

वीरगञ्ज (पर्सा), ५ माघः पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको छनोट प्रक्रिया सुरु भएको छ । 

    पर्सा जिल्लामा आवेदन परेका निर्वाचन प्रहरीको आजदेखि शारीरिक परीक्षण लगायतका छनोटका काम सुरु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीको आजदेखि छनोटको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

    “आज बिहानदेखि वीरगञ्जको नारायणी रङ्गशालामा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको शारीरिक परीक्षण लगायतका काम सुरुआत गरिएको छ,” उहाँले भन्नुभयो, “पर्सा जिल्लाबाट निर्वाचन प्रहरीमा सहभागी हुनेको उत्साहजनक देखिएको छ ।” 

    पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको प्रत्यक्ष निगरानी र सुपरीेवेक्षणमा छनोट प्रक्रिया अघि बढाइएको छ । संयोजक कार्कीले निर्वाचन  प्रहरी छनोट प्रक्रियालाई  तोकिएको मापदण्डअनुसार पारदर्शी र वस्तुपरक ढङ्गले अघि बढाइएको जानकारी दिनुभयो ।

    निर्वाचन प्रहरीमा सहभागी हुनेको दौड तथा अन्य शारीरिक गतिविधि गराइएको छ । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जनाले आज आवेदन माग गरेको थियो । तर, नेपाल प्रहरीतर्फ भने पाँच हजार ३९९ जनाको आवेदन परेको छ । पर्साबाट सशस्त्र प्रहरीले लिएको आवेदनतर्फ पनि निर्वाचन प्रहरीमा ३८५ जनाको आवेदन माग गरिएको थियो । जसमा माघ १ गतेसम्म ५७१ जनाले आवेदन दिएका छन् ।