माघ १५, २०८२ बिहिबार

रसुवा, १५ माघः यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।
            
    गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनर चालकलाई जनही रु एक हजारका दरले जरिवाना गरिएको छ ।
             
    ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन् । कारबाहीपर्नेमा  चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन् ।
         
    गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट सङ्कलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ । यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिनुभयो ।