तानसेन (पाल्पा), १५ माघः पाल्पाको तानसेनमा आजदेखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले तानसेन नगरपालिकाको आयोजनामा यहाँको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ सुरु भएको हो ।
तानसेन नगरपालिकाको मुख्य आयोजनामा लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सह–आयोजना, शर्मा निर्माण सेवा बगनासकाली–९ पाल्पाको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
जलपरी, औद्योगिक वस्तु तथा सेवाको प्रदर्शनी र प्रवद्र्धन, लगायतका अवसर सिर्जना र आकर्षण गर्ने तथा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम राखिको उहाँको भनाइ छ । महोत्सवमा कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी साथै पाल्पाली ढाका, करुवा, कृषि तथा पशुजन्यलगायत स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने, स्थानीय भाषा, कलासंस्कृत, धार्मिक मूल्य र मान्यताको संरक्षण तथा स्थानीय प्रविधिलाई प्रोत्साहन र बाह्य प्रविधिको पहिचान गर्ने किसिमका क्रियाकलाप पनि राखिएको छ ।
कृषि तथा पशुपक्षी, प्रतियोगितात्मक कार्यक्रम, स्थानीय उत्पादन, पाल्पाली ढाका, पाल्पाली करुवा, माटाका भाँडा, काठका ठेकाठेकी जस्ता कला तथा संस्कृतिको प्रदर्शनीसमेत महोत्सवमा हुने छ । महोत्सवमा विभिन्न उत्पादनका तीन सय भन्दा बढी स्टल रहेका छन् । जहाँ पाँच लाख बढी दर्शकले अवलोकन गर्ने नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उहाँका अनुसार कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोबाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनीका प्रदर्शनी कक्ष रहनेछन् । माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आठ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्वसस्थलमा प्रवेश गर्नका लागि रु ७५ र विद्यार्थीलाई ५० तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सव सञ्चालनको लागि विद्युतीय बोलपत्र प्रक्रियाबाट छनोट गरी मूल्य अभिवृद्धि करबाहेक रु ८६ लाखमा ठेक्का लागेको हो । विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दैआएका थिए ।