माघ १५, २०८२ बिहिबार

चितवन, १५ माघः मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । 

    सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए । मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी र भयरहित निर्वाचन बनाउन दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा के–के गर्दा आचारसंहितको उल्लङ्घन हुन्छ । त्यस बारेमा सहभागीहरुलाई प्रस्ट्याउनु भएको थियो । कुन क्षेत्रका उम्मेदवारले कति रकम खर्च गर्न पाउने लगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो । उहाँले आचारसंहिताको पालना नगरेमा उम्मेदवारी रद्धका लागि सिफारिससम्म गर्न सक्ने भएकाले सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । निष्पक्षता माथि शङ्का नगर्न आग्रह गर्दै उहाँले निर्वाचन प्रक्रियामा ठूला र साना दल नचिनिने सबैलाई आचारसंहिताको पूर्ण रुपमा पालना गराइने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना नगरेमा आवश्यक कारबाही हुने बताउनुभयो । जनप्रतिनिधिहरुले गर्नुपर्ने आचारसंहिताका विषयमा समेत उहाँले जानकारी गराउनु भएको थियो । सुरक्षा व्यवस्थामा कुनै कन्जुस्याँइ नगरिने जनाउँदै उहाँले निर्धक्क साथ आचारसंहिता पालना गरेर आफ्नो प्रचारमा जुट्न आग्रह गर्नुभयो ।

    कार्यक्रमका उद्देश्यका बारेमा निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले प्रकाश पार्नुभएको थियो ।