माघ १५, २०८२ बिहिबार

काठमाडौँ, १५ माघः दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गर्नुभएको छ । 

    नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ । 

    भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गर्नुभयो । 

    छलफलका क्रममा दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि गहन छलफल भएको थियो । विशेषगरी ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बीमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतसँग समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभएको थियो । साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा राजदूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

    भेटका क्रममा राजदूतावासले निकट भविष्यमा ग्वाङ्जु क्षेत्रमा बृहत् लगानी सम्मेलन आयोजना गर्ने सोच राखेको र सोका लागि सम्भाव्य लगानीकर्ताहरूको पहिचान र पहल गर्न राजदूत तुम्बाहाङ्फेले अवैतनिक वाणिज्यदूतलाई आग्रह गर्नुभयो । 

    सोही अवसरमा अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले ग्वाङ्जु क्षेत्रमा हालसम्म आफूले सम्पन्न गरेका गतिविधि, आफ्नो कार्यप्रगति तथा आगामी दिनमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने योजना र पहलहरूबारे राजदूतलाई अवगत गराउनुभयो ।


    नेपालप्रति विशेष आत्मीयता राख्ने अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओन आफूलाई ‘नेपालको छोरा’ भन्न रुचाउनुहुन्छ । उहाँले हालसम्म २१ पटक नेपाल भ्रमण गरिसक्नुभएको छ । सन् २०१५ को भूकम्पका बेला पहिलो कोरियाली राहत टोलीको नेतृत्व गर्दै नेपाल पुग्नुभएका जिओनले कोरियाली चिकित्सकसहितको ठूलो टोली लिएर नेपालको उक्त विपद्को घडीमा उल्लेखनीय सहयोग पु¥याउनुभएको थियो । उहाँको यस योगदानले नेपाल–कोरियाबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ ।