असोज ११, २०७८ सोमबार

शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा पठनपाठन सञ्चालन गर्न भवन अभाव भएपछि  कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारीले आफ्नो भवन प्रयोग गर्न सहमति दिएको छ । 

संघीय सांसद नरबहादुर धामीले यस क्षेत्रको शैक्षिक गुणस्तरलाई माथी उकास्न आफू सधैं प्रतिबद्ध लागिरहेको र लागिरहने बताए । जीवनयापन सहजताका साथ अगाडि बढाउने उद्धेश्यले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय खोलिएको बताउँदै धामीले थप नयाँ कार्यक्रम ल्याउनका लागि पहल गर्ने जानकारी दिए ।

सोमबार भवन दिने विषयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टको अध्यक्षतामा उक्त छलफल भएको हो । छलफलमा क्याम्पससँग रहेको भवनमा पठनपाठन सञ्चालन गर्ने विषयमा सहमतिसमेत भएको छ ।  छलफल कार्यक्रममा अध्यक्ष उद्धवराज भट्टले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई भवन दिने विषयमा आफूहरू सकरात्मक रहेको बताए । यस्तै उनले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई त्यससम्बन्धमा एउटा लिखित प्रस्ताव पेश गर्न आग्रह गरे । यस्तै भट्टले शिक्षाबाट नै समाज परिवर्तन हुने बताउँदै शैक्षिक क्षेत्रको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको जानकारी दिए । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका ललित कलौनीले कम कक्षाकोठामा अन्य विद्यार्थीहरूको पढाइमा प्रभाव नपर्ने गरी आफूहरूले व्यवस्थापने गर्ने बताए । यस्तै उनले प्रयोगशालाका लागि दुई ओटा कोठाहरू आवश्यक रहेको जानकारी दिए । यस्तै तत्काल आफूहरूलाई नौ ओटा कक्षाकोठाहरू आवश्यक रहेको जानकारी दिए । साथै उनले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई नमुना शिक्षालयका रूपमा अगाडी बढाउन सवैको साथ र सहयोगको खाँचो रहेको बताए । क्याम्पस सञ्चालक समितिका सदस्य सिद्धराज भट्टले क्याम्पसलाई के लाभ हुन्छ त्यसको सम्झौतासहितको योजना बैठक गर्नुपर्नेमा जोड दिए । पठनपाठन सञ्चालनका लागि शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयलाई भवन अभाव हुँदा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र अटो मोवाइल इन्जिनियरिङको पढाइ भइरहेको छ ।