माघ १७, २०८२ शनिबार

नेपालगञ्ज, १७ माघः वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल, बाँके शाखाले सेन्टरको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँलाई वर्ष २०८२ को कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो । 

    वरिष्ठ पत्रकार पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य सिराज खान र पूर्वकेन्द्रीय सदस्य डा डक्टप्रसाद धितालले संयुक्त रूपमा रु ३० हजार राशिको पुरस्कार हस्तान्तरण गर्नुभयो । 

    पत्रकार पिटरले सेन्टरले आफूलाई सम्मान गरेर ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै स्व कृष्णसेन इच्छुकसँग बिताएका समय र अनुभवहरू स्मरण गर्नुभयो । उहाँले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्नेमा त्यसरी नभएको भन्दै उहाँले जनपक्षीय पत्रकारिता सशक्त बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विकले धेरै छलफल र विचारविमर्शपछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरलाई छनोट गरिएको जानकारी दिनुभयो । सेन्टरका पूर्वकेन्द्रीय सदस्य डा धितालले लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ट कार्य गरेको बताउनुभयो । सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।