माघ १७, २०८२ शनिबार

कास्की, १७ माघः पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको छ । पोखरा रङ्गशाालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन । घरेलु टोली नेपाललाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अङ्क जोड्न सफल भएको छ । नेपालले अब भुटानसँग सोमबार दोस्रो खेल खेल्नेछ ।

    यसअघि आजै सम्पन्न पहिलो खेलमा बङ¬्गलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराउन सफल भएको छ । बगलादेशले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो । बङ्गलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरिन् । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरेकी हुन् ।

    प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।