माघ १७, २०८२ शनिबार

काठमाडौँ, १७ माघः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृति आदानप्रदानमार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा राख्नुभएको छ । 

    चिनियाँ नयाँ वर्ष २०२६ का अवसरमा आज यहाँ आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा उहाँले खेलकुदले भाषा, भूगोल र राजनीतिभन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने बताउनुभयो । 

    प्रतियोगिता आयोजनाका लागि नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई धन्यवाद दिँदै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गर्नुभयो । दुई देशबीच विकास, पूर्वाधार, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरीय आदानप्रदानमार्फत सम्बन्ध थप सुदृढ हुँदै आएको उहाँको भनाइ छ ।

    मन्त्री श्रेष्ठले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा सन् २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै, चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पु¥याइरहेको उल्लेख गर्दै उहाँले भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी र सगरमाथाको देश नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई आग्रह गर्नुभयो ।

    चिनियाँ नयाँ वर्षको महत्वबारे प्रकाश पार्दै मन्त्री श्रेष्ठले यो नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीक भएको उल्लेख गर्नुभयो । पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सवलगायत सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय बन्दै गएका जनाउँदै उहाँले यी कार्यक्रमले दुई देशका समुदायलाई नजिक ल्याउने भूमिका निर्वाह गरिरहेको विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले आगामी दिनमा नेपाल–चीनबीच संयुक्त प्रतियोगिता, युवा तथा आधारभूत तहका खेलकुद कार्यक्रम, महिला खेलाडी आदानप्रदान तथा समावेशी पहलमार्फत सहकार्य अझ विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले चिनियाँ नयाँ वर्ष २०२६ का अवसरमा नेपाल र चीन दुवै देशका जनतालाई सुस्वास्थ्य, खुसी र समृद्धिको शुभकामना दिँदै नेपाल–चीन मित्रता दीर्घायु होस् भन्ने कामना व्यक्त गर्नुभयो । 

    मन्त्री श्रेष्ठले आगामी राष्ट्रिय निर्वाचन सफल बनाउन सबै सरोकार भएकाहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आ–आफ्नो स्थानबाट लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न योगदान दिन आग्रह गर्नुभयो । उहाँले निष्पक्ष, समावेशी र शान्तिपूर्ण निर्वाचन लोकतन्त्रको आधार भएको भन्दै नागरिक, राजनीतिक दल, नागरिक समाज तथा युवाहरूलाई जिम्मेवार सहभागिताका लागि आह्वान गर्नुभयो ।

    सो अवसरमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत झोउ पान, युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई, युनान विश्वविद्यालय खेलकुद संस्थानका उप–निर्देशक चेनहेन छिङलगायतको उपस्थिति थियो । 

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा सङ्काय तथा नेपाल ओभरसिज चिनियाँ सङ्घको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल यू–२० महिला राष्ट्रिय टोली र चीनको युनान प्रान्तको युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल भएको हो । उक्त खेलमा नेपाल यू–२० महिला टोलीले युनान प्रान्तको टोलीलाई ३–१ ले पराजित गरेको छ ।

    खेल सुरु हुनुभन्दा अघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । चीनको ड्रागन नृत्य प्रस्तु गरिएको थियो भने नेपालका तर्फबाट पन्चैबाजाको प्रस्तुति थियो ।