माघ १७, २०८२ शनिबार

टक्सार (भोजपुर), १७ माघः सवारी दुर्घटनाको दर कम गराउने उद्देश्यले भोजपुरका प्रमुख सडकमा कन्भेक्स लेन्स राख्न सुरु गरिएको छ । सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले विभिन्न स्थानका घुम्ती तथा मोडहरूमा कन्भेक्स लेन्स जडान सुरु गरिएको हो ।

    बिहानी फुटबल क्लबको पहलमा अभियानका रूपमा कन्भेक्स लेन्स जडान सुरु गरिएको क्लबका अध्यक्ष बिकल श्रेष्ठले बताउनुभयो । “सडकमा कन्भेक्स लेन्स राखिँदा चालकले मोड पछाडिको भाग सहजै देख्न सक्ने छन् । यस्तो लेन्सले दुई दिशाबाट आउने सवारीसाधनलाई स्पष्ट रूपमा देखाउन सहयोग पुग्ने भएकाले यो अभियानले सहजता हुनेछ”, उहाँले भन्नुभयो ।

    यस कार्यमा ट्राफिक प्रहरी कार्यालय भोजपुरले सहकार्य गरेको छ । सहयोगी दाताहरूको पहलमा सडक क्षेत्रमा राखिएका लेन्सको सहायताले सवारी दुर्घटनामा कमी आउने भएकाले आफूहरूले अभियान सुरु गरेको अध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो । 

    उहाँका अनुसार भोजपुर नगरपालिका–३ गुप्तेस्वरको सेती बगर हुँदै वडा नं ४ दावा बलौटे, सेरा खोला घुम्ती, वडा नं ५ मसिने बेसी, वडा नं ६ प्रगति चोक, जिल्ला अस्पताल घुम्ती, वडा नं १२ टक्सारको सल्ला घारी घुम्तीलगायत क्षेत्रका सडकमा कन्भेक्स लेन्स जडान गरिसकिएको छ । हिले भोजपुर नारदमणि थुलुङ सहायक राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गका विभिन्न क्षेत्रमा पहिलो चरणमा कन्भेक्स लेन्स जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

    विशेष गरी तीव्र मोड तथा घुम्तीहरूमा ठूला दुर्घटना हुने जोखिम रहेकाले  यसको रोकथाममा लेन्स प्रभावकारी हुने यातायात व्यवसायी मायालु मोक्तानले बताउनुभयो । स्थानीयले यो कार्यलाई जनचेतनामूलक अभियानसँगै यातायात सुरक्षामा आधुनिक उपकरणको प्रयोगका रूपमा बुझेका छन् ।