माघ १७, २०८२ शनिबार

जनकपुरधाम, १७ माघः मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले सुशासन कायम गरी मधेसलाई सक्षम, प्रभावकारी जनता केन्द्रित कार्यसम्पदान गर्ने प्रदेशका रूपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभएको छ ।

    मधेस प्रदेशसभाको छैटौँ अधिवेशनको आज १२औँ बैठकमा उहाँले मधेस प्रदेश सरकारले विकास, सामाजिक न्याय तथा सुशासन कायम गर्नेतर्फ लागिपरेकाले यसतर्फ सबैले गम्भीरतापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रदेश दिगो रूपमा बलियो तथा सक्षम भएमा सङ्घीयता पनि बलियो हुने तर्क राख्दै मुख्यमन्त्री यादवले सङ्घीयतालाई कानुनी रूपमा सक्षम बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो । सबैले सकारात्मक सोचका साथ जनता तथा प्रदेशका लागि काम गरेमा सङ्घीयता बलियो हुनुका साथै जनताले सुशासनको अनुभूति गर्ने उहाँको भनाइ छ । प्रदेश सरकार एक्लै सबै कार्य गर्न नसक्ने भएकाले सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सो बैठकको विशेष समयमा प्रदेशका सांसदहरूले मधेसको आर्थिक, राजनीतिक, सामाजिकलगायत समसामयिक विभिन्न घटना तथा समस्याका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।