माघ १८, २०८२ आइतबार

काठमाडौँ, १८ माघः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।

    शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

    प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति स्थापना र सामाजिक विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताउनुभयो । उहाँले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । 

    बुटवल उपमहानगरका प्रमुख पाण्डेयले बुटवललाई मुख्य व्यापारिक केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधि सञ्चालनका लागि पालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन प्रवर्द्धनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेका जानकारी दिनुभयो ।

    यसैगरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बञ्जाडे, कलाकार एचवी रम्तेललगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गर्नुभएको थियो । प्रदर्शनीमा समसामयिक चित्रकला÷मूर्तिकला, शिल्प तथा हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलासम्बन्धी ११५ कलाकारका १५० भन्दाबढी कलाकृति समावेश छन् । नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको कला प्रदर्शनी यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।