माघ १८, २०८२ आइतबार

भक्तपुर, १८ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आज अवलोकन गर्नु भएको छ । 

    आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन यहाँ आउनुभएका उहाँले भक्तपुरको दरबारस्क्वायरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मध्यपुरथिमि सिन्टीटारस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा सञ्चालन गरिएको भक्तपर क्षेत्र नं २ को निर्वाचन कार्यालयको निरीक्षण गर्नु भएको हो । 

    मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धिसम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिलगायत सबैसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिनुभयो । 

    मुख्य निर्वाचन अधिकृतसँगको छलफलमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको भन्दै आवश्यक समन्वय र सहजीकरणको लागि गृह मन्त्रालय तयार रहेको बताउनुभयो ।

    मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी,  जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले यहाँको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे जानकारी गराउनुभएको थियो । गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली यहाँ आएको हो ।