माघ १८, २०८२ आइतबार

बागमती, १८ माघः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताउनुभएको छ । 
    
    बागमती प्रदेशसभाको आठाँै वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौँडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणबादी शक्तिलाई आग्रह गर्नुभयो । ठूलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यस्थामाथि खतरा बढ्ेको उल्लेख गर्नुहुँदै उहाँले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औँल्याउनुभयो । 

    विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

    आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेनजी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेनजी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताउनुभयो । प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवासुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्नुहुँदै उहाँले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताउनुभयो । 

    कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले लामो समयदेखि बागमती प्रदेशसभाको बैठक बस्न नसक्दा जनताको जनप्रतिनिधि संस्था अन्योलमा परेकाले तत्काल प्रदेशसभाको बैठक बोलाउने वातावरण सरकारले बताउनुपर्ने बताउनुभयो । बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जनताको आवाज बोल्ने प्रदेशसभालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।