माघ १८, २०८२ आइतबार

काठमाडौँ, १८ माघः प्रथम वडाअध्यक्ष कप खुल्ला कराते प्रतियोगिताको उपाधि बाघ भैरव डोजोले जितेको छ । 

    प्रतियोगितामा कालो बोर्डिङ स्कुलले द्वितीय स्थान हासिल गर्दा पद्मा डोजोले तृतीय स्थान हासिल गर्न सफल भयो । व्यक्तिगततर्फ छात्रा समूहमा पद्मा डोजोकी दिव्यानी तामाङ तथा छात्र समूहमा नव शान्तिका सुलभ चौधरी उत्कृष्ट खेलाडी घोषित भए । पुरस्कार वितरण समारोहमा  काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडा नं ७ का वडाअध्यक्ष विमलकुमार होडा, नेपाल गोजु–काई कराते–डो सङ्घका अध्यक्ष अशुराज श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारालाई आत्मसात् गर्दै काठमाडौँ महानगरपालिका–७ कार्यालयको सहयोग तथा मित्रपार्क नाय खिं बाजं खलः सँगको समन्वयमा नेपाल गोजु–काई कराते–डो सङ्घले उक्त प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न तौल समूहमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा २७० खेलाडीको सहभागिता रहेको थियो ।