माघ २०, २०८२ मंगलबार

बहरथवा (सर्लाही), २० माघः जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । 

    नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिनुभयो ।

    “ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ”, प्रमुख जिल्ला अधिकारी कँडरियाले भन्नुभयो, “योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।” यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।्

    संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताउनुभयो । 

    नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ”, नागरिकता पाएपछि गुप्ताले भन्नुभयो ।