काभ्रेपलाञ्चोक, २० माघ ः गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ ।
जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा अनलाइन सिफारिस गर्नुअघि वडाहरूले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरेर पेस गर्छन् । तिनै कागजात र अनलाइनबाट प्रिन्ट भएको सिफारिससहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकले सेवा लिन्छन् ।
यस्तै वडाले अपलोड गरेको फाइल कोडका आधारमा व्यक्तिको ‘इन्ट्री’ गरेलगत्तै वडाबाट भरेको विवरणका आधारमा नागरिकता प्रिन्ट हुन्छ । सनाखत गर्नेको पूर्ण विवरण पनि त्यही लोड गरिएको हुन्छ । त्यसका अलावा जिल्ला प्रशासन कार्यालय आफैँले पनि ती कागजातलाई स्क्यान गरेर अर्काे अभिलेख बनाउँछ र डिजिटलाइजेसनपछि कागजातलाई सुरक्षित राख्छ । अनलाइन सिफारिसका कारण एउटै काम फरकफरक निकायले पटकपटक गर्नुपर्ने अवस्थाको अन्त्य हुँदा विवरणमा एकरुपता र झन्झटिलो अवस्थाबाट नागरिक मुक्त हुने भएका छन् । झुटो विवरण पेस गरी नागरिकता लिनेलाई भने यो प्रणालीले निकै सकस बनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन सिफारिसका कारण व्यक्तिको विवरण सुरक्षित र कम त्रुटि भएका अभिलेख डिजिटलाइज भएका हुन् । “अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् र समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । सेवामा द्रुतगति भएको, अभिलेखमा त्रुटि कम र विश्वास धेरै भएको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सेवामा नागरिकलाई झन्झटरहित बनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले जिल्लामा नागरिकतासम्बन्धी समस्या समाधानमा अनलाइन सेवा थप प्रभावकारी बनेको बताउँदै कागजात नपुगेका कारण नागरिकता नबन्ने भन्ने समस्या टरेको उल्लेख गर्नुभयो । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले नागरिकता सिफारिसका लागि अनलाइन सेवा महत्त्वपूर्ण मानिएको बताउनुभयो ।
यसैबीच चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा छ महिनामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नपाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतमा यो अवधिमा ३५५ वटा नागरिकता बनेका छन् । अनलाइन सेवाबाट भने ३२३ नागरिकता बनेका कार्यालयले जनाएको छ ।
नयाँभन्दा प्रतिलिपि लिनेको सङ्ख्या अधिक रहेको पाइएको छ । जिल्ला प्रशासनको तथ्याङ्कअनुसार यस अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै, यस अवधिमा २५ जनाले नागरिकता परित्याग गरेको गैरआवासीय नागरिकता १८ जनाले लिएको तथा चार जनाको नागरिकता रद्द भएको कार्यालयले जनाएको छ ।