चितवन, २२ माघः यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो भन्ने बारेमा किसानलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।
चितवनसहित अन्य जिल्लामा पालिएका राम्रो नश्ल भएका गाई ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा बुझाइने उहाँले बताउनुभयो । उहाँका अनुसार माघ २९ गतेसम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायसम्बन्धी अन्तरक्रिया गरिने छ । यसमा पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नविनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जामा जोड्न टेवा पुग्ने अध्यक्ष बगालेले बताउनुभयो ।
प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ । ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् ।
–––